हरमा हर र ऐश्वर्य श्रेष्ठ (भिडियोसहित )


वेभ टिभि संवाददाता,सोल-शनिबार दक्षिण कोरियाको राजधानी शहर सोलको नजिक तुंगदेमुनस्थित लक्ष्मी रेष्टुरेष्ट एण्ड बारमा विस्तारैं जमघट बाक्लिदैं थियो । कोरियामा चिसो बढेसंगैं नेपालीहरुको चहलपहल कम थियो । त्यसमा पनि शनिबार प्राय कम्पनीमा काम हुने गर्दछ । एक दुई जना गदैं रात छिप्पिदैं जांदा भिड पनि निक्कैं बढीसकेको थियो । यो दृश्य ऐश्वर्य सांझको हो । कोरियामा रोजगारीसंगैं रेडियो टिभि र अनलाईन पत्रकारितामा जमेका सञ्चारकर्मी ऐश्वर्य श्रेष्ठ आफनो सांगीतिक प्रस्तुतीको साथमा साहित्यिक रचना लिएर हाजिर भएका थिए ।
नेपाल ललितकला मन्च दक्षिण कोरिया र छन्देरी ग्रुपले संयुत्तरुपमा आयोजना गरेको सो साँझमा कोरियामा बढेको चिसोलाई समेत गर्मी महशुस गरे दर्शकले ।कोरियामा कामसंगैं सञ्चारजगतमा फरक नाम बनाएका श्रेष्ठले पहिलो पटक लाईभ सांगीतिक प्रस्तुती तथा रचना वाचन गरेका हुन् ।अनौंपचारिक रुपमा शुरु भएको कार्यक्रममा सञ्चालक मेघप्रसाद वाईवाले श्रेष्ठको सञ्चार क्षेत्रमा प्रवेश र कोरिया बसाईको क्रममा मिडियामा उनको संलग्नताको चर्चा परिचर्चा गरेका थिए ।

त्यसपछि स्टेजमा उक्लेका श्रेष्ठले मुक्तकबाट कार्यक्रम अघि बढाएका थिए ।पहिलो मुक्तकले नैं दर्शकको वाह वाह बटुले । आफु साहित्य र संगीतमा रुचि राख्ने विधार्थी भएको बताउदै हतारको साहित्यकारमात्र भएको उल्लेख गरे । उनको प्रस्तुती शैंली कम रोचक थिएन् ।त्यसपछि गोपाल योञ्जनको राष्ट्रप्रेम बोकेको गीत ‘बनेको छ पहराले ‘गाईरहदा दर्शकदिर्घामा सन्नाटा छाएको थियो भने ताली बजाएर साथ दिएका थिए ।
घटनाक्रम,जीवनभोगाईलाई जोडदैं अंग्रेजी कविता ब्लु डेथ,नेपाली कविता म देउता, सूर्य बुढा प्रस्तुत गरेर उनले साहित्यमा समेत आफनो राम्रो दख्खल रहेको सबैंमा आभास दिलाए ।

त्यसपछि कोरियामा कार्यरत नेपालीहरुको पिडालाई उतारिएको श्रेष्ठको कोरियामा हरेक नेपालीको ओठमा झुन्डिएको गीत ‘हरमा हर ‘२ चोटी गाउदा समेत दर्शकले वान्स मोर भनीरहेका थिए ।पुन त्यसपछि केही मुक्तक वाचन गरेपछि उनको विल्कुलैं नयां गीत हितैंको मायालुमा दर्शक उठेर छमछमी नाचेका थिए ।

त्यसपछि औंपचारिक कार्यक्रम शुरु भएको थियो ।नेपाल पत्रकार महासंघ कोरिया शाखाका सचिव समेत रहेका श्रेष्ठलाई कोरियामा पत्रकारिताको क्षेत्रमा पुराएको यागदानलाई कदर गदैं ललितकला र छन्देरी गु्रपले संयुक्त रुपमा सम्मान गरेको थियो ।कार्यक्रमका प्रमुख अतिथी कवि जीवन खत्री,चित्रकार बाबु साईला लगायतले खादा ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष रन्जनराज कुंवर,कवि जीवन खत्री,अन्नपुर्ण पोस्टका कोरिया संवाददाता लिलु डुम्रेले श्रेष्ठको चर्चा गरेका थिए ।

सो कार्यक्रममा कवि जीवन खत्रीले केही मुक्तक र गजल वाचन गरेका थिए भने अर्का बाबु साईलाले कविता, गजल प्रस्तुत गरेका थिए ।
साथमा स्थानीय गायक अमन थिंग र छन्देरी गु्रपले समेत भरपुर मनोरञ्जन दिलाएका थिए ।