साहित्याकार सुष्मा रुपाबुङ राईको मुटू हल्लिने कविता “ कलम ठुलो कि तरवार ? ”


“कलम ठुलो कि तरवार?”
कलम ठुलो कि तरवार ठुलो??
स्कुलमा खुबै बादबिबाद गराउथे शिक्षकहरु
मेरो औंला भन्दा सानो कलम,
ओहो! त्यो बडेमानको तरवार सँग
कसरी ठुलो हुन सक्छ?
ओखरको गुदि भन्दा सानो मेरो दिमागले यस्तै सोच्थे !!

किन हो एक्दिन घरमा सोध्न मन लाग्यो
कलम ठुलो कि तरवार ठुलो आमा?
कहिल्यै कलम नसमाएको हातले धारिलो हसिया कन्लामा नचाउदै मुसुक्क मुस्कुराएर भन्नुभो
“कलम ठुलो छोरी!! ”
चित्त बुझेन, फेरी सोधे कलम ठुलो कि
तरवार ठुलो पापा?
कलमको आयतन कहिल्यै ननापेको
हातले बडेमानको खुकुरिले रुख छिमल्दै उस्तरिनै
मुसुक्क हासेर भन्नुभो- कलम ठुलो छोरी !!!
त्यही दिन देखी म सोचिरहन्थे.. बस!! सोचिरहन्थे…
ओखरको गुदि भन्दा सानो दिमागले!!

आज निकै समयपछी खोपडिको साइज सङै
दिमागको साइज अलिकती बढ्यो कि!,
र अब भने साच्चै तरवार भन्दा
कलम ठुलो लाग्यो..
जब,
कलमले एक थोपा मसी ओकल्दा
तरवारले घेरिएको दरबार हल्लियो,,
जब,
सत्य ईतिहासको सानो चित्र कोरिदा ,,
आफ्ना कालो कर्तुतका नाङ्गो प्रोट्रेट छोप्न
बर्दीहरुको कु-सक्त्ती लाएर
कलमको मसिहरुलाई बन्दी बनाउने
दुस्साहस गर्‍यो
जब,
अक्षरहरुको तापले तोपहरुको सुरक्षित अखडा
भित्र पनि शासकहरुको मुटु हल्लियो!!
तर,
जब एउटा कलममाथि लगाम लगाइन्छ
तब हजारौ कलमहरु जाग्नेछन यहाँ
र लेखिरहनेछन मेरो स्वातन्त्रता खै?
मेरो अस्तित्व खै ??
मेरो पहिचान खै ???
किनकी,

तिमीले देख्न बर्जित गरेका सपनाहरुले ऐठन
पारीहरेछ..
सत्ताको लागि दल-दल मिलेर भ्रष्टचार र गरिबिको
दलदलमा देश फसाइरहेछौ ..
हाम्रै मतको रनामा मात्तिएर हाम्रै अधिकामाथि
शासन गरिरहेछौ ..
देशमा बिकाशको मुल फुटाउछु भन्ने नारा लाएर
बेरोजगारल्याण्डमा मेनपावरहरु ठडाएर बिदेश खेद्ने रणनिती अपनाइरहेछौ ..
दक्ष, सभ्य क्षमतालाई बाहिर लखेटेर
भ्रष्ट दलाल बलत्कारीलाई सम्मानको तक्मा भिराइरहेछौ
ब्याभिचारी, भ्रष्टचारको खेतिको फसलले तिम्रो
दस पुस्ते बङ्सको आकाश जत्रै भुँडी बड्दा,
यहाँ भोकमरिले मेरा युगौ बाच्ने भबिष्य
अकालमै मरिरहेछ…
प्रजातन्त्र,गणतन्त्र, लोकतन्त्र, लाई
आफ्नो पेवा बनाएर
खै के-के तन्त्र मन्त्र फलाकेर
मेरो स्वाभिमान माथि राजनीति गरिरहेछौ..
म हिंड्ने बाटोहरु अपहरण गरेर
‘अघी बड’को मिथ्या नाराले
आफ्नो खोक्रो-घोक्रो फुलाइरहेछौ..
यि तिम्रा हर्कतहरु टुलु-टुलु हेर्दा हेर्दा आजित
भइसके..

सक्छौ भने,
ओ शासक महोदय !!
सक्छौ भने गिरफ्तार गर
जो सधैं धारिलो हतियार
हातमा खेलाएर “कलम ठुलो’ भन्ने मेरो
पापा आमाको “चेतनालाई”
आफ्नो असित्वको लडाईं गर्न सक्ने मेरो
हिम्मतलाई कालकोठरिमा कैदी बनाउ..
ओ शाशक!
सक्छौ भने तिम्रो हिरासतमा राख
स्वातन्त्र भै उड्न खोज्ने मेरा सपनाहरुलाई
सक्छौ भने बन्दी बनाउ
आफ्नो पहिचान चिन्न सक्ने मेरा चेतहरुलाई…
के सक्छौ तिमी??

विश्वाश छ, एकदिन जरुर
मलाई थिचेर राखेका तिम्रा गोडाहरु
कम्जोर हुनेछन..
र मेरा कुन्ठित सपनाहरु, कैदी अस्तित्वहरु
एक शक्त्तिशाली ज्वालामुखी बनेर बिष्फोट हुनेछ,
मेरा प्रत्येक लाभाहरुले तिम्रा अहङ्कार र अपराधहरु
जिउदै किस्ता- किस्तामा निल्नेछन
के त्एतिबेला बचाउन सक्छौ आफुलाई??

जब-जब अत्यचारि, ब्याभचारी शासकहरुको
जन्म हुन्छ
तब- तब कलमले युद्द गर्ने शाहस गर्दछ
र एकदिन राइफलले घुडा टेकेर
“शान्ती” जरुर लेख्नेछ…
-शुष्मा रुपाबुङ