शुभ-चिन्तक (कथा)


कोरिया डायरी

ट्रेन स्टेशनहरुमा भीडभाड हुन्छ नै,सदा झै त्यो दिन पनि उस्तै थियो।बिदाको दिन परेकोले विभिन्न गन्तव्यतिर लाग्न हतार यात्रुहरुको चहलपहल हेर्न लायक देखिन्थ्यो।यसपाली ट्रेन स्टेशनमा म कसैलाई बिदाई गर्न गएको थिंए,जो मेरो कोही खास जस्तो लाग्दथ्यो।
हुन पनि ऊ मेरो खास मान्छे नै थियो जो आफैले मेरो कला र साहित्यको ठुलो शुभचिन्तक हुं भन्थिन् र जसको अनुरोधमा भर्खर संगै कुनै रेष्टुरांमा दिउसोको खाना खाएर छुट्टिन लागेका थियौ। तर थाह थिएन म उनको लागि खास थिए या घाँस…… ट्रेन चढ्न भित्र जान कार्ड छुवाउने ठाँउनेर पुगेर उनी केहिबेर रोकिईन् अनि मलाई उस्तै आत्मियता देखाउदै भनिन् ” तपाई पनि आफ्नै गन्तव्य लाग्नुस् ल अब म हिंडे।” हस् मैले छोटो जवाफ फर्काए।
भर्चुअल दुनिया (ईन्टरनेट) मा हामी प्राय आमनेसामने भई रहेतापनि यो हाम्रो चिनजान भएको ३ महिनाको अन्तरालमा प्रत्यक्ष तेस्रो भेट थियो।
खुशी यसकारणले लाग्दथ्यो कि उनी सभंव भएसम्म मलाई भेट्न चाहन्थिन् तर यतिका समयसम्म यो कुरा प्रष्ट थिएन कि उनी मेरो कलालाई जस्तै मलाई माया गर्छिन् ? या गर्दिनन् । उनी कार्ड छुवाएर हात हल्लाउदै गन्तव्यतिर लागिन्।
कोमल स्निग्ध मुहार लिएर रेशमी केशराशी फर्फराउदै फर्की फर्की हेर्दै उनी अन्तत् त्यही भीडभित्रै बिलीन भई। किन हो कुन्नी यसपाली प्रत्युत्तरमा हात हल्लाउदै म उनलाई ओझेल नहुन्जेल नियालीरहें.…. घ्यार्र घ्यार्र ……ठीक यहि बेला मोबाईलको घण्टी बज्यो। म झसंग भएं।परिचित नम्बरबाट फोन आएको रहेछ। हेलो भाई……फोन उठाए।
के हो ? दाई अरुको गर्लफ्रेण्डलाई ट्रेन स्टेशनमा हात हल्लाउदै हुनुहुन्थ्यो नि,उताबाट उसले भन्यो। को ? अरुको गर्लफ्रेण्ड म खङरङ्ग भए।
‘त्यही निलो जिन्सवाली।भर्खरै देखेथें तपाईहरुलाई’,उसको जवाफ आयो। म कहां छौ तिमी ? (यतिखेरसम्म मेरो आवाजमा कम्पन निस्किसकेको थियो ।) भाई म पनि सुवन आएको छु सपिङ्ग गर्न,अहिले हतार भएर बाथरुम छिरेको छु।१० नं गेटमा बस्नुस्। त्यहि भेटेर कुरा गरौला।उसले फोन काट्यो। म पसिनाले निथ्रुक्क भिजीसकेको थिए।
यकिन भो,उनी मेरो शुभचिन्तक मात्र रहीछिन्।तर किन हो कोही आफ्नो शुभचिन्तक भन्ने थाहा पाउदा पनि पहिलो चोटी नरमाईलो महशुस भयो ।
-बाबु साँईला (लेखक मानवीय संवेदनामाथि रंग चलाउने कलाकार हुन् ।)