श्रम कोरियामा उद्यम नेपालमा (निबन्ध)


नेपाली दूतावास दक्षिण कोरियाद्धारा आयोजित निबन्ध प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न सफल निबन्ध ।
खेम सिंह साउद 
                     कुनै पनि राष्ट्र समृद्ध हुनुमा त्यो देशको स्रोत साधन र समय सापेक्ष प्रबिधिको सही रुपमा सदुपयोग भएको आँकलन गर्न सकिन्छ । देशको स्रोत साधन अन्तर्गत स्वभाविक रुपमा त्यो देशको उर्जाशील मानव संसाधन पनि आउछ जसमा खास गरी काम गर्ने उमेर समूह अर्थात युवाहरुको अहम भूमिका रहेको हुन्छ ।
देशमा पर्याप्त उद्योग धन्दा र कलकारखाना नभएर रोजगारीका अवसरहरू नहुदा कयौं नेपाली युवाहरु विदेशिएका छन जसमा पछिल्लो समयमा नेपाली युवाहरुको बैदेशिक रोजगारीको प्रमुख गन्तब्य दक्षिण कोरिया पनि हो ।
कोरियामा सन १९९० को दशक बाट नेपालीहरू कोरिया प्रवेश गर्न शुरू भए पनि सन २००८ बाट इपिएस प्रणाली मार्फत नेपाली कामदार कोरिया भित्रिन थालेपछि अहिले कोरियामा नेपालीहरुको उपस्थिती बाक्लिदो छ । अहिलेको अवस्थामा कोरियामा नेपालीहरु मध्ये केही सीमित रुपमा व्यावसायिक र विद्यार्थी भिषामा भए पनि अधिकांश नेपालीहरू श्रमिकको रूपमा नै रहेका छन ।
वैदेशिक रोजगारीमा प्रायः अरु देशको तुलनामा कोरियामा तलव र सेवा सुबिधा राम्रो भएकोले पनि कोरिया नेपाली युवाहरुको लागि रोजगारीको आकर्षक गन्तव्य रहेको छ । तर कोरिया बिदेशी श्रमिकहरुको लागि केही सीमित समयको लागि मात्र हो । बिदेशी श्रमिकहरुले कोरियामा लामो अवधि सम्म बस्न सकिने अवस्था छैन । अरु देशहरुमा  जस्तो ग्रीन कार्ड र पीआर पाउन कोरियामा त्यति सजिलो छैन । विदेशी मजदुरहरुले सीमित समय सम्म  मात्र बस्न पाउने र  त्यसपछि कोरिया छोड्नुपर्ने बाध्यात्मक अवस्था छ । अर्को तर्फ आफूले आर्जन गरेको ज्ञान, सीप र पूँजी लाई आफ्नो देश, समाज र राष्ट्रको विकास र समृद्धिमा लगाएर समुन्नत राष्ट्र निर्माणमा योगदान पुर्याउनु एउटा नागरिकको दायित्व र जिम्मेवारी पनि हो । त्यसकारणले पनि कोरियामा आर्जन गरेको ज्ञान, सीप र पैसाले नेपालमा गएर केही उद्योग धन्दा वा व्यवसायमा लगानी गरेर राष्ट्रको विकास र समृद्धिमा सहभागी बन्नु हामी सबैको कर्तव्य र जिम्मेवारी हो । यसको लागि नेपालमा एकल लगानी वा केही साथीहरु मिलेर सामुहिक सहभागितामा लगानी र पूँजी अनुसारको उद्योग व्यवसाय गर्न  सकिन्छ ।
नेपाली श्रमिकहरुले कोरियामा पैसा मात्र कमाएका छैनन । उनीहरू एउटा औद्योगिक वातावरणमा काम गर्ने भएकाले पैसा संगै केही व्यावसायिक सीप पनि सिकेका हुन्छन । विदेशीहरु कोरियामा श्रमिकको रूपमा प्रबेश गर्दा प्रायः जसो अदक्ष श्रमिक कै रुपमा भित्रिने गर्छन । तर कोरिया छिरिसकेपछि कृषि तथा उत्पादन मूलक जुनसुकै क्षेत्रमा भए पनि श्रम नै गर्नु पर्ने भएकोले श्रमिकले जुनसुकै काम  गरे पनि एउटै काम लगातार ४/५ बर्ष सम्म गरे पछि पक्कै पनि उक्त काममा दक्षता हासिल गर्ने गर्दछ । कोरियामा एउटा श्रमिकले प्रायः जसो दैनिक कम्तिमा ८ घण्टा देखि १७/१८ घण्टासम्म काम गर्नु पर्ने हुन्छ । यसरी काम गर्दा केही न केही ज्ञान, सीप र अनुभव आर्जन गर्दछ । साथै श्रमिकका लागि यो एउटा व्यवहारिक तालिम पनि हो । श्रमिकले केही न केही सीप अवश्य सिकेको हुन्छ । केही  नभए नि दिनको ८/१० घण्टा खटिएर काम गर्न सक्ने क्षमताको विकास गरेको हुन्छ ।
कोरियामा  प्रायः जसो कृषि क्षेत्र तर्फ च्याउ खेती, गाई पालन, बंगुर पालन,  तरकारी तथा फलफूल खेती, जडिबुटी खेती तथा प्रशोधन जस्ता उद्योगहरु र उत्पादन मूलक क्षेत्र तर्फ फर्निचर उद्योग, कपडा रंग तथा बुट्टा गर्ने, कागज प्रशोधन तथा कागजका समानहरु बनाउने, वेल्डिङ, प्रिन्टिङ आदि उद्योगहरु मा काम गर्ने श्रमिकहरुले आर्जन गरेको ज्ञान र सीप नेपाल फर्के पछि पनि अत्यन्त काम लाग्ने खालका सीपहरू हुन ।
यसका साथै कोरियन कम्पनी सञ्चालक र कोरियन श्रमिकहरुबाट समेत अरु पनि थुप्रै कुराहरु सिक्न सकिन्छ । लामो समय सम्म एउटा उद्योग मा उद्यमी संग काम गर्दै गर्दा औद्योगिक व्यवस्थापन र कार्य सम्पादन का सम्बन्धमा पनि व्यवहारिक ज्ञान आर्जन गरेको हुन्छ । व्यावसायिक योजना तर्जुमाको सम्बन्धमा पूँजी को परिचालन, उत्पादित वस्तु तथा सेवाको बिक्रि वितरण तथा बजार व्यवस्थापन, श्रमिक परिचालन तथा व्यवस्थापन, लगायत उद्योग सञ्चालन का बारेमा व्यवहारिक कुराहरु पनि सिकेको हुन्छ । यसका साथै व्यावसायिक जीवनमा ग्राहकसंग गरिने अति मर्यादित र शिष्ट व्यवहार पनि कोरियनहरुबाट सिक्न सकिने कुराहरु हुन ।
कोरियामा कुनै राजनीतिक दल वा संघ, संगठन प्रति र कुनै मजदुर युनियन प्रति त्यति चासो लिएको पाइदैन । कोरियनहरू आफ्नो काम प्रति अत्यन्त लगनशील र जिम्मेवारीका साथ काम गर्ने, इमान्दार र  मिहिनेती हुन्छन। कम बोल्ने , अरुको कुरा धैर्यताका साथ सुन्ने , अनावश्यक टिका टिप्पणी नगर्ने, समयको सही व्यवस्थापन, इमान्दारिता, विश्वसनीयता आदि कुराहरु कोरियनहरुबाट सिक्न सकिन्छ ।
काम अलि गार्हो र मिहिनेत बढी नै गर्नु पर्ने भए पनि अन्य देशको तुलनामा कोरियामा श्रमिकहरुको तलव र सेवा सुविधा राम्रो छ । त्यसकारण मिहिनेत र लगन का साथ काम गरेको खण्डमा कोरियामा नेपाली श्रमिकले छोटो अवधिमै एउटा निश्चित रकम जम्मा गर्न सक्छन । त्यो पूँजी लगानी गरी नेपाल फर्के पछि आफ्नो रुचि, बजेट र योजना अनुसारको उद्योग व्यवसाय सञ्चालन गर्न सकिन्छ। लगानी, बजेट, सीप, क्षमता र व्यवस्थापन कौसलताका आधारमा नेपालमा वर्तमान समयमा गर्न सकिने व्यवसायका क्षेत्रहरुलाई निम्न अनुसार हेर्न सकिन्छ:
कृषिमा आधारित उद्योगहरु: यस अन्तर्गत दुग्ध तथा मासु जन्य पदार्थ को व्यवसाय का लागि गाई भैसी पालन, बाख्रा पालन, बंगुर पालन, कुखुरा पालन जस्ता व्यवसायहरु गर्न सकिन्छ । यस्तो खालको व्यवसाय ठिक ठिकै लगानीमा परिवार संगै आफै एक्लै पनि शुरु गर्न सकिन्छ । कृषि प्रधान देश नेपालमा यसका लागि पूर्वाधार र स्रोत साधन जुटाउन त्यति गार्हो देखिदैन । उत्पादित वस्तु तथा सेवाको बिक्री वितरणका लागि बजार पनि प्रशस्त संभावना भएको र स्थानीय तह मै पनि धेरै माग भएको देखिन्छ ।
तरकारी तथा फलफूल खेती: यस अन्तर्गत च्याउ खेती लगायत बिभिन्न खालको तरकारी तथा फलफूल खेती गर्न सकिन्छ । कोरियामा प्रयोग हुदै आएको ग्रीन हाउस लगायत का आधुनिक प्रबिधिहरुको प्रयोग गरी बेमौसममा पनि तरकारी तथा फलफूल उत्पादन गरेर प्रशस्त आम्दानी गर्न सकिन्छ । कृषिमा आधारित व्यवसायहरुमा माहुरी पालन पनि संग संगै गर्न सकिने व्यवसाय हो ।
पर्यटन तथा मनोरन्जन सम्बन्धी व्यवसाय: यस अन्तर्गत पर्यटकहरुले मनोरञ्जन लिन सक्ने बिभिन्न मनोरन्जनात्मक फन पार्क, वाटर पार्कहरु, दृश्यावलोकन गर्न सकिने तथा  मनोरन्जनात्मक खेलहरु खेल्ने, खेलाउने, बिभिन्न प्रदर्शनी देखाउने खालका पार्कहरू सञ्चालन गर्न सकिन्छ । पर्यटकहरुलाई लोभ्याउने मनमोहक घुम्न लायक सजिएका गार्डेन पार्कहरु निर्माण गरेर सशुल्क सञ्चालन गर्न सक्यो भने यसबाट पनि मनग्ये आम्दानी गर्न सकिन्छ । पर्यटकहरुलाई लक्षित गरी ठाउँ र ग्राहकको अवस्था हेरेर आधुनिक सेवा सुविधा सहितका कोरियन, चाइनिज लगायतका स्वादिष्ट खानेकुराहरुको साथै नेपालको कला, संस्कृति, परम्परा र रहन सहन झल्किने र त्यसको प्रत्यक्ष अनुभव नेपाल घुम्न आउने विदेशी पर्यटकहरुले गर्न सक्ने र पर्यटकहरु लाई नौलो अनुभूति गराउन सक्ने खालका सुबिधाहरु भएको जसमा सावना स्टिम बाथ लगायत कोरियामा प्रशिद्ध  फिजियोथेरापी (मुल्लिछिर्यो) र अकुपञ्चर (छिम योपब) जस्ता चिकित्सा सुबिधा लगायत मसाज, ब्युटिपार्लर आदि सेवाहरु समेत उपलब्ध हुने गरी आधुनिक सेवा सुविधा सहितका होटल, रिसोर्ट र रेस्टुरेन्ट व्यवसाय  पनि नेपालमा प्रशस्त संभावना बोकेको व्यावसायिक क्षेत्र हो ।
यो बाहेक अरु पनि बिभिन्न खालका जडिबुटी प्रशोधन तथा औषधी जन्य वस्तुरुको उत्पादन सम्बन्धी व्यवसाय ,वेल्डिङ सम्बन्धी उद्यम, फर्निचर उद्योग सञ्चालन, सावना स्टीम बाथ तथा उपचार पद्दती सम्बन्धी व्यवसाय, अकुपञ्चर तथा फिजियोथेरापी (मुल्लीछिर्यो) उपचार पद्दती सम्बन्धी व्यवसाय पनि नेपालमा अत्यन्त संभावना बोकेका व्यवसायिक क्षेत्रहरु हुन ।
यसका साथै अलि बढी लगानी र सामुहिक सहकार्य जुटाउन सकेको खण्डमा नेपालमा हाइड्रोपावर लगायत बिभिन्न बैंक तथा वित्तीय संस्था संचालनको क्षेत्रमा पनि लगानीको प्रशस्त संभावना रहेको छ ।
पछिल्लो समय देशमा लामो समयपछि राजनीतिक स्थायित्व र उद्योग व्यवसाय सञ्चालनका लागि लगानीको उचित वातावरण समेत बन्दै गएको अवस्थामा सरकारी स्तरबाट पनि युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने नीति रहेको छ । जसअनुसार बैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई व्यवसाय सञ्चालन गर्न सरकारले नै बिषेश सहुलियत दर मा ऋण उपलब्ध गराउने लगायत बिभिन्न सुबिधाहरु को व्यवस्था गरिएको छ । यसबाट पनि उद्योग सञ्चालनका लागि थप सहयोग पुग्ने देखिन्छ ।
तसर्थ सधैं भरी अर्काको देशमा दास बनेर वा अबैधानिक बसेर   थ्री डी काम गरेर बस्नु भन्दा वैधानिक रुपमा कोरिया बसुन्जेल कमाइएको पूँजी, ज्ञान र सीपलाई उपयोग गरी आफ्नो देशमा उद्योग व्यवसाय गरी मालिक बनेर बस्नु को आनन्द छुट्टै हुन्छ । घर परिवार र आफन्तको साथमा सुख का साथ बस्न पाउनुको साथै आफ्नो देशको औद्योगिक विकास र समृद्धिमा एउटा ईटा थप्न सकिन्छ। केही युवाहरु लाई स्वदेशमा नै रोजगार दिन सकिन्छ । आफ्नो समृद्धि संग संगै देशको समृद्धि को ढोका खुल्न सक्छ । हामी र हाम्रो सोच बदलिए हाम्रो समाज बदलिन्छ, देश बदलिन्छ । त्यसैले देश र माटोलाई सम्झेर पराधीन होइन आत्मनिर्भर बन्नका लागि दृढ इच्छाशक्ति र उच्च मनोबलका साथ कोरियामा रहेका नेपाली श्रमिकहरुले आफुलाई एउटा सफल उद्यमी बनाउनका लागि आफुलाई मानसिक रुपमा तयार गर्नैपर्ने बेला भएको छ ।   १२२१ शब्द